गणतन्त्र दिवस–२०७८ को शुभकामना सन्देश

गणतन्त्र दिवस–२०७८ को शुभकामना सन्देश

१९ जेठ, २०७८ मा प्रकाशित


गणतन्त्र दिवस–२०७८ को अवसरमा माननीय मुख्यमन्त्रीज्यूले दिनुभएको शुभकामना सन्देश

मिति : २०७८ जेठ १५ गते 

नेपाली जनताले दशकौं लामो समयदेखि सशस्त्र एवं निशस्त्र रुपमा सञ्चालन गरेका बलिदानीपूर्ण संघर्षहरुको ऐतिहासिक उपलब्धिस्वरुप जननिर्वाचित संविधान सभाबाट २०६५ जेठ १५ गते आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएको थियो । गणतन्त्र दिवस–२०७८ को यस गौरवमय अवसरमा प्रदेशवासी एवं सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । 

गणतन्त्र स्थापनाको लागि नेपाली जनताले गरेका ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षका क्रममा आफ्नो ज्यानको आहुति दिने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन लगायतका सबैखाले न्यायपूर्ण आन्दोलन तथा संघर्षहरुमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु । 

गणतन्त्रको स्थापनापश्चात् नै हामीले समावेशी÷समानुपातिक व्यवस्था, धर्मनिरपेक्षता, संघीयतालगायतका महत्वपूर्ण राजनीतिक उपलब्धिहरु प्राप्त गरेका छौं । ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरु नै धरापमा पार्ने गरी अहिले भइरहेका असंवैधानिक र प्रतिगमनकारी कदमप्रति पनि सचेत रहन जरुरी भएको छ । गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा म सबैखाले प्रतिगमनकारी, निरंकुश र असंवैधानिक दुस्प्रयासहरुका विरुद्ध खबरदारी गर्दै संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापनाको बाटोमा दृढतापूर्वक अघि बढ्न अपिल गर्दछु । 

यतिबेला विश्व समुदायसँगै हामीले पनि कोरोना भाइरस (कोभिड–१९) को गम्भीर संकटसँग मुकाविला गरिरहेका छौं । यो संकटपूर्ण अवस्थाको अन्त्य गर्न प्रदेश सरकार पनि सम्पूर्ण साधनश्रोत तथा संयन्त्रको परिचालनसहित कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण, रोकथाम, उपचार तथा प्रतिकार्यको काममा लागिरहेको छ । सबै नागरिकको जीवनरक्षाका लागि प्रदेश सरकारले आवश्यक नीति, बजेट, स्वास्थ्य सामग्री, जनशक्तिलगायतको यथोचित व्यवस्थापनमा ध्यान केन्द्रित गरेको छ । यसैगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई समेत कोभिड प्रतिकार्यमा केन्द्रित गर्ने प्रदेश सरकारको तयारी रहेको छ ।

कोभिड–१९ ले सिर्जना गरेको अहिलेको परिस्थितिबाट निरास नहुन तथा धैर्य गर्न आग्रह गर्दै कोभिड नियन्त्रणका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले गरिरहेका प्रयासलाई सहयोग गर्न, सरकारको निर्देशन अनुसार भौतिक दूरी कायम गर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड र निषेधाज्ञाको पूर्ण पालना गर्न आम जनसमुदायलाई हार्दिक आग्रह गर्दछु । 

अन्तमा, गणतन्त्र दिवस–२०७८ ले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभिभारा पूरा गर्दै समाजवादी राज्य व्यवस्था स्थापनाका लागि सबै नेपालीमा प्रेरणा प्रदान गर्ने विश्वाससहित तपाई समस्तमा पुनः शुभकामना व्यक्त  गर्दछु । धन्यवाद ।

.................

महेन्द्रबहादुर शाही